२०८१ फागुन २१, बुधवार , ०४:२३:४९ बजे

Sajhamanch
'

ह्वाइट हाउसमा भएको घटना पश्चातापयोग्य : युक्रेनी राष्ट्रपति जेलेन्स्की

बुधवार, फागुन २१, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताएका छन् ।

ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय आएको बताएका हुन ।

अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ह्वाइट हाउसमा भएको वादविवादलाई पश्चातापयोग्य भनेको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पारेका छन् । जसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम आक्रमण रोक्ने हुन सक्ने उल्लेख छ ।

रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिने जेलेन्स्कीले उल्लेख गरेका छन् । उनले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गरेका छन् ।

अमेरिका भ्रमणका क्रममा हुन नसकेको खनिज सम्झौता गर्न पनि युक्रेन तयार रहेको उनले दोहोर्‍याएका छन् । आफ्नो पोस्टमा जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिएको सहयोगबारे स्पष्ट शब्दमा कृतज्ञता पनि व्यक्त गरेका छन् ।

गएको शुक्रवारको बैठकमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञ नभएको आरोप जेलेन्स्कीलाई लगाएका थिए ।

जेलेन्स्कीको पोस्टबारे प्रतिक्रिया दिँदै बेलयातका प्रधानमन्त्री सर किअर स्टार्मरले शान्ति स्थापित गर्ने दृढ प्रतिबद्धता भएको बताएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनि ट्रम्पसँग पुनः वार्तामा बस्ने जेलेन्स्कीको चाहनाको प्रशंसा गरेका छन् ।

यसअघि ट्रम्प र जेलेन्स्कीको विवादपछि युरोपेली नेताहरू युक्रेनको पक्षमा उभिएका थिए । जेलेन्स्कीको वक्तव्यमा ट्रम्पसँग क्षमायाचना भने गरिएको छैन । अमेरिकी राष्ट्रपतिका निकट व्यक्तिहरूले जेलेन्स्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बबताएका छन् । ट्रम्पले जेलेन्स्कीको पत्र पढ्दै युक्रेन दिगो शान्तिका लागि चाँडै वार्तामा बस्न तयार भएको बताएका हुन ।

सम्बन्धित खबर