
झापा । सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेका बीबीसीले जनाएको छ ।
विपक्षीहरूले देशमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनको समर्थन गर्दै सरकारको विरोध गरेका थिए । विपक्षीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन गर्न खोज्दा संसद् भवनभित्रका सुरक्षाकर्मीसँग झडप भएको हो ।
झडपका क्रममा तीन जना सांसद घाइते भएका छन् । एक जनालाई हृदयाघात भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सर्बियामा ४ महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको ज्यान गएपछि विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।
आन्दोलनले बृहत् रूप लिएको छ । सत्तापक्षले भने सरकारलाई कमजोर बनाउन पश्चिमा गुप्तचरहरूले आन्दोलन चलाएको आरोप लगाएका छन् ।