
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै अरब योजना स्वीकृत गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुनर्निर्माणका लागि झण्डै २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गरेका थिए । ट्रम्पको यो योजनालाई अरब राष्ट्रहरूले पूर्ण रूपमा अस्वीकार गरेका बीबीसीले जनाएको छ ।
अरब लिगका महासचिव अहम अबुल घैथले अरब योजना घोषणा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पको योजना उल्लेख नै नगरि स्वैच्छिक वा जबरजस्ती कुनै पनि प्रकारको विस्थापन अस्वीकार गर्ने अडानलाई दोहोर्याएका छन् ।
इजिप्टले ९१–पृष्ठको विस्तृत योजना प्रस्तुत गरेको छ जसमा हरियो क्षेत्र र ठूला सार्वजनिक भवनहरूको योजना समावेश छ । झण्डै डेढ वर्ष लामो हमास–इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक ठाउँ ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको अनुमान छ ।