
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको छ ।
अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा आज विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
चौधरीको बीएससी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा चौधरीले भारतको राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटकबाट जारी भएको बीएससी एमआईटी सर्टिफिकेटको झुटो शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको देखिएको प्रवक्ता अधिकारीले बताए ।
चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग उजुरीमा गरिएको छ । चौधरी २०७२ देखि कोशी अस्पतालमा कार्यरत थिए ।