
काठमाडौं । नेपालमा चरा प्रजातिको सङ्ख्या ८९८ पुगेको छ । पछिल्लो पटक बैजनी–बुङ्गेचरा थप भएको हो । यो चरा बङ्गलादेश, भारत, म्यानमार र श्रीलङ्कामा पाइने गरेकोमा नेपालमा पनि भेटिएको हो ।
झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा समुद्र सतहदेखि १३३ मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘पर्पल–रुम्पेड सनवर्ड’ अर्थात् बैजनी–बुङ्गेचरा भेटिएको र अभिलेख भएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।
चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनका क्रममा फागुन ७ गते मेचीनगर क्षेत्रको आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा यो चराको भालेपोथी देखेका थिए।
खरेलपछि चराविद्हरू अनिश तिमसिना, चक्र तिमसिना र शङ्कर लुइँटेलले पनि अवलोकन गरेका थिए। चराको तस्वीर पाएपछि त्यसको पुष्टि बर्ड रेकर्ड कमिटीले गरेको अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिए।
यसैबीच नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले गएको मङ्सिर २३ गते भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खेतमा खैरो झाडी फिस्टो चरा देखेका थिए।
गुरुङले खिचेको यो चराको तस्वीर पुस ८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए। चराको तस्वीर र अन्य विवरणका आधारमा चरा खैरो झाडी फिस्टो भएको कमिटीले पुष्टि गरेको नेपाल बर्ड रेकर्ड कमिटीका डा। तुल्सी सुवेदीले जानकारी दिए।
नेपालमा १९औं शताब्दीयता यो चराको कुनै अभिलेख नभएको हुँदा लोप भएको ठानिएको डा. सुवेदीले बताए। अङ्ग्रेजी नाम ुब्राउन बुस वार्ब्लरु रहेको यो चरा भुटान, भारत, चीन, म्यानमार र थाइल्यान्डमा पाइने नेपाल पक्षीविद् सङ्घले जनाएको छ । यो अब नेपालमा पनि पाइने सूचीमा समावेश भएको छ ।