
झापा । अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् ।
तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताएका छन् ।
युक्रोन पीडित रहेको स्पष्ट हुँदाहुँदै पनि रुसबाट हुने आक्रमणबाट जोगिन र आफ्नो भूमिको रक्षा गर्न यसले चाल्ने कदममा अमेरिकाले रक्षात्मक सहयोग गर्नुपर्नेमा उल्टो सहयोग कटौती गर्नु अचम्मको कुरा भएको उनको प्रतिक्रिया छ ।
यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य हुने कुरा धेरै टाढा रहेको बताएकामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रोनको आलोचना गरेका थिए।
यसैबीच बेलायतका प्रधानमन्त्री केयर स्टारमरले युद्ध अन्त्य गर्न र रूसबाट युक्रेनलाई जोगाउन युरोपेली देशसँग छलफल गरेर चार–बुँदे योजना घोषणा गरेका थिए। तर युरोपेली नेताहरूले अमेरिकी सहयोगविना युक्रेनमा शान्तिको सुनिश्चितता गर्न नसकिने सुझाव दिएका छन् ।