
झापा । रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने भएका छन् ।
पछिल्लो समय दुई देशबीचको सम्बन्धमा सुधार भइरहेको बेला यसबारे थप वार्ता गर्न इस्तानबुलमा रुस र अमेरिकी अधिकारीहरु भेट्न लागेका रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक रुससँग उच्चस्तरीय वार्ता शुरु गरेका हुन ।
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुने बीबीसीले जनाएको छ ।
लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच यही फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उहाँहरू युक्रेनविना नै युक्रेन युद्धबारे वार्ता शुरू गर्न सहमत भएका थिए। त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् ।