२०८१ फागुन १५, बिहिवार , १०:२५:५९ बजे

Sajhamanch
'

ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सकेमा वन डढेलोको जोखिम कम हुने

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । भौगोलिक हिसाबले देशका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरे पनि सङ्ख्यात्मक हिसाबले तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार हरेक वर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका छन् । ६५ प्रतिशत वन डढेलो अप्रिल महिनामा लाग्ने गरेको छ ।

वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत कारण डढेलोको घटना हुने गरेका छन् । ज्वलनशील पदार्थको व्यवस्थापन नै सबैभन्दा चुनौतिका रूपमा रहेको जानकारहरू बताउँछन् ।

मानवीय कारणबाट ९६ प्रतिशत डढेलो लाग्ने गरेको र झन्डै ७० प्रतिशत डढेलो लापरबाही वा अन्जानले हुने भएकाले यसलाई रोक्न सकिने विज्ञको सुझाव छ ।

वन डढेलोविज्ञ सुन्दर शर्मा डढेलो नियन्त्रणका लागि कार्यदल बनाएर कार्ययोजना कार्यान्वयन गर्न सकेमात्र प्रभावकारी हुने बताउछन्।

छरिएर रहेका योजना, बजेट र जनशक्तिलाई एकत्रित गरी आवश्यक उपकरणका साथ जनशक्तिको क्षमता अभिवृद्धि गर्न सके परिणाममुखी हुने उनको भनाइ छ ।

व्यवस्थित रूपमा नियन्त्रित डढेलो लगाएर यसको जोखिम कम गर्नुपर्ने, नियन्त्रणका लागि अग्निरेखा बनाउनुपर्ने, समुदायस्तरमा पूर्वतयारी र रोकथामका उपायबारे जनचेतना जगाउनुपर्ने शर्माको भनाइ छ ।

मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुख सहसचिव दीपक ज्ञवालीका अनुसार यो वर्ष पनि लामो हिउँदे खडेरीका कारण वन डढेलको जोखिम बढेको छ ।

गएको महिना काभ्रे र ललितपुर तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा देखिएका वन डढेलोका घटनाले थप सजकता अपनाउनुपर्ने देखिएको उनको भनाइ छ ।

नेपालमा भौगोलिक धरातल र सुरक्षा, उपयुक्त उपकरणको अभाव, डढेलो नियन्त्रणमा महँगो र अधिक स्रोत आवश्यक पर्ने, सीमित परम्परागत तालिम प्राप्त जनशक्ति, उत्प्रेरणाको कमीलगायत चुनौती रहेको सहसचिव ज्ञवाली बताउछन्।

वनमा सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ निजी क्षेत्रलाई जिम्मेवारी दिएर भए पनि औद्योगिक कच्चापदार्थका रूपमा प्रयोग गर्न सके केही मात्रामा भए पनि डढेलोको जोखिम कम हुने उनले बताए।

समयमै वन व्यवस्थापन गरी काठ–दाउरा सङ्कलनलाई थप प्रभावकारी बनाउन तथा गाउँबस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न विज्ञहरूको सुझाव छ ।

नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण स्थानीय समूहस्तरबाट धुँवा देखिना साथ डिभिजन वन कार्यालयले सूचना प्राप्त गर्ने प्रणाली विकास गर्नुपर्ने बताउछन्।

मन्त्रालयका सचिव डा।दीपककुमार खराल जलवायुको असरले डढेलो बढाएको र डढेलोका कारण जलवायुका असर बढेको बताउछन् ।

डढेलोले जैविक विविधताको ह्रास हुने गरेको र वायु प्रदूषण पनि हुने गरेकाले यसको नियन्त्रणमा सबै संवेदनशील हुन उनको आग्रह छ ।

सम्बन्धित खबर