२०८१ फागुन १४, बुधवार , ११:१२:२० बजे

Sajhamanch
'

सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

बुधवार, फागुन १४, २०८१

काठमाडौं । सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो । उक्त विमान सेनाका उच्च अधिकारीहरू बोकेर सैन्य मिसनमा जाँदै थियो ।

दुर्घटना बाक्लो बस्तीमा भएको थियो । त्यसैले कम्तिमा पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष आवासीय घरहरूमा खसेको छ, जसले केही घरहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

स्थानीय स्वयंसेवी समूहले दुर्घटनापछि अस्पतालमा गम्भीर रूपमा जलेका घाइतेहरू र दश शवहरू ल्याइएको जनाएको छ । सो समूहले बाँचेकाहरूमा गम्भीर चोटहरू रहेको पनि उल्लेख गरेको छ ।

विमान दुर्घटनाको कारण खुलेको छैन । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनाको कारण प्राविधिक गडबडी हुनसक्ने जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले विमान निकै होचो उचाइमा उडिरहेको र अचानक भुइँतर्फ खस्दै जाँदा आगो लागेको देखेको बताएका छन् ।

यो दुर्घटनाले सुडानमा जारी गृहयुद्धको संकटलाई थप गहिरो बनाएको छ । सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स बीच २०२३ को अप्रिलदेखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २९ हजार ६०० भन्दा बढी मानिस मारिएका छन् । १५ लाभभन्दा बढी विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

सम्बन्धित खबर