
इलाम । इलामको चिया फ्याक्ट्रीमा भएको आगलागीबाट करिब ७ करोडको क्षति भएको छ ।
आगलागीबाट फ्याक्ट्रीको सम्पूर्ण मेशिन, स्टोर रुम, तयारी चिया, कम्प्युटर, कागजपत्र र अन्य सरसामान जलेर नष्ट भएको हो । गएराति ९ बजे लागेको आगो बिहानको राति २ बजे नियन्त्रणमा आएको थियो ।
इलाम नगरपालिका–४ जस्बिरेस्थित बिश्वास सुब्बाले संचालन गर्दै आएको जस्बिरे चिया फ्याक्ट्रीमा अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा २० जना,सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेक्वा श्रीअन्तुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १५ जनाको प्रहरी टोली, इलाम र देउमाई नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईले अनुमानित ७ करोडको क्षति भएको जानकारी दिए ।
आगलागीमा परी फ्याक्ट्री संचालक बिश्वास सुब्बाका भाइ इलाम– ४ जस्बिरे बस्ने वर्ष अन्दाजी ४३ का शरद सुब्बा घाइते भएका छन् । आगोको रापले अनुहार र दाहिने हातमा सामान्य जलेकोमा जिल्ला अस्पताल इलाममा उपचारपश्चात् उनी डिस्चार्ज भएको डीएसपी राईले जानकारी दिएका छन् ।