२०८१ फागुन १३, मङ्गलवार , ०८:२६:४३ बजे

Sajhamanch
'

मदरसा तालिमुल कुरान आधारभूत विद्यालयले भवन निर्माण र जग्गा पास गर्नका लागि दाता गुहार्यो

मङ्गलवार, फागुन १३, २०८१

बिर्तामोड । मुलतः विपन्न मुस्लिम समुदायका बालबालिकाहरु अध्ययनरत बिर्ताबजारस्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयको भवन निर्माण र जग्गा खरिद प्रक्रिया बीचैमा रोकिएको छ ।

जग्गा धनी स्थानीय कैलाश प्रसाईंले बिक्रीनामा बनाएर विद्यालयलाई ४ कठ्ठा जग्गा उपलब्ध गराए पछि विद्यालय भवन पनि बनाइँदैछ । ५ धुर जमिन प्रसाईंले नै विद्यालयलाई दान दिएको, १ कठ्ठा ११ धुर जमिन विद्यालयको नाममा रजिष्ट्रेशन पास भइसकेको र बाँकी जमिनको रकम भुक्तानी गर्न अप्ठ्यारो परेकोले दाता गुहार्नु परेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले उक्त जमिनमा स्थानीय दाताहरु र तीनै तहका सरकारहरुको आर्थिक सहयोगले भवन निर्माण शुरु गरेर एकतला ढलाई गरेता पनि आर्थिक अभावकै कारण पूरा गर्न नसकेको जनाए ।

शिक्षक र कर्मचारीहरु सबैजना महिलामात्र रहेको सो विद्यालयमा मुस्लिम समुदायका महिलाहरुले धर्म विरुद्धको क्रान्ति गर्दै शिक्षण पेसा अपनाइरहेको अध्यक्ष खानको भनाई छ ।

कक्षा ६ सम्म सञ्चालित सो विद्यालयमा गैर मुस्लिम समुदायका ६ जनासहित १५४ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । हाल बिर्ताबजारस्थित मस्जिदमा विद्यालय सञ्चालन भइरहेकाले सरकार र समुदायको सहयोग लिएर फराकिलो स्थानमा सार्न भवन निर्माण गर्नुपरेको अध्यक्ष खानले बताए ।

विद्यालयले आज निर्माणधिन विद्यालयको प्राङ्गणमा पत्रकार सम्मेलन गरेर अधुरो भवनबारे जनाएको हो ।

मदरसाले सञ्चालन गरेको सो विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्म उर्दु, अरेबिक, अंग्रेजीसहित नेपाल सरकारले तोकेका पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्दै आएको अध्यक्ष खानले बताए ।

कक्षा १२ सम्म अध्यापन गराउने तथा विद्यालयमा नै छात्रावासको ब्यवस्था गर्ने लक्ष्य लिएको विद्यालयको भवन निर्माण नै अपुरो रहनु र जग्गाको लालपूर्जा पनि आफूहरुसँग नहुँदा विद्यालय सञ्चालन कठिन भएकाले एकपटक दाता गुहार्न बाध्य भएको अध्यक्ष खानको भनाई छ ।

विद्यालयको नाममा पास गर्न बाँकी २ कठ्ठा ९ धुर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ आवश्यक रहेको र त्यसका लागि समाजसेवी, शिक्षा प्रेमी देश तथा विदेशमा रहेका दाताहरुसँग मुष्ठिदानको अपेक्षा गरेको हो । सहयोग गर्न चाहने दाताहरुले एनआईसी एशिया बैंक बिर्ताबजारमा रहेको खाता नम्बर ४६४१५०१०८८४२००२ मा सहयोग गर्न सकिने बताइएको छ ।

विद्यालयको निर्माणधिन भवन र बाँकी रहेको जग्गा खरिद गर्न अनुमानित एक करोड ७० लाख रुपैयाँ खर्च हुने भएकाले सबैले सहयोग गरिदिन विद्यालयले आग्रह गरेको छ । हाल विद्यालय सञ्चालन खर्च वार्षिक २६ लाख ५५ हजार ६०० रुपैयाँ लाग्ने भए पनि २३ लाख ५० हजार रुपैयाँ मात्र स्रोत जुटेको अध्यक्ष खानले बताए ।

झापामा यस्ता धार्मिक विद्यालयलहरु ५१ वटा दर्ता भएपनि अहिले बिर्तामोड र झापा गाउँपालिकामा मात्र ब्यवस्थित तरिकाले सञ्चालन भएको अध्यक्ष खानले बताए । मदरसा विद्यालयमा प्रधानाध्यापक, शिक्षक, कर्मचारी र सहयोगी सबै महिला रहेको नेपालको पहिलो नमूना मदरसा विद्यालय भएको दावी गरिएको छ ।

पत्रकार सम्मेलनमा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले वडाले गर्नसक्ने सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले मुस्लिम, सन्थाल लगायत समुदायका बालबालिकालाई अझै पनि विद्यालय नपठाउने गरेको बताए । उनले मदरसा विद्यालयले त्यस्ता समुदायमा चेतना जगाउँदै अभिभावकलाई प्रोत्साहन गराउनु पर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक अन्जुम खातुनले सहजीकरण गरेको पत्रकार सम्मेलनमा हालसम्म नगद सहयोग गर्ने दाताहरुको विवरण पनि सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खबर