२०८१ फागुन १३, मङ्गलवार , ०४:१७:५३ बजे

Sajhamanch
'

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

मङ्गलवार, फागुन १३, २०८१

झापा । बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

साथै दिउँसो कफी पिउनेहरूको तुलनामा बिहान कफी पिउनेहरूमा मृत्युको जोखिम कम रहेको पाइएको छ । तर यस अध्ययनमा कफी नै यसको कारण हो भन्ने प्रमाणित हुन नसकेको खबरमा उल्लेख छ ।

ट्युलेन युनिभर्सिटी ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा। लु चीले अध्ययनले बिहान कफी पिउनाले मृत्युको जोखिम किन कम गर्छ भन्ने कुरा भने नखुलाएको बताए।

दिउँसो वा साँझमा कफी पिउनाले ‘सर्काडियन’ लय अर्थात् हाम्रो शरीरमा हुने शारीरिक, मानसिक र व्यवहारमा हुने परिवर्तनको २४ घण्टाको चक्र र मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा पुग्न सक्ने अध्ययनको सम्भावित व्याख्या छ । यसले हृदय रोगको जोखिम कारकहरूमा परिवर्तन निम्त्याउने अनुसन्धानकर्ताले बताएका छन् ।

यो अध्ययन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ । डा. चीले अध्ययनको निष्कर्ष अन्य मानिसहरूका लागि सही छ कि छैन भनेर हेर्न थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे। कफी पिउने समय परिवर्तनको सम्भावित प्रभाव बुझ्नका लागि क्लिनिकल परीक्षणहरू सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

न्यु अर्लिन्सको टुलेन युनिभर्सिटीका अन्वेषकहरूले सन् १९९९ र २०१८ को बीचमा अमेरिकामा राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षणमा भाग लिने ४० हजार सात सय २५ जना वयस्कहरूमा अध्ययन गरेका थिए ।

उनीहरूलाई दैनिक खानेकुरा र पेय पदार्थहरूका साथै कफी कहिले र कति पिउने भनेर सोधिएको थियो । अध्ययनका अनुसार ३६ प्रतिशत सहभागीहरूले बिहान कफी पिउने र १४ प्रतिशतले बिहानको सट्टा दिनको कुनै पनि समयमा कफी पिउने बताएका थिए ।

डा. चीले र उनको टोलीले झन्डै एक दशकसम्म सहभागीहरूलाई पछ्याउँदै उनीहरूको मृत्युको कारणबारे जानकारी लिएका थिए । झन्डै १० वर्षपछि चार हजार २९५ जनाको मृत्यु भएको थियो जसमध्ये एक हजार २६८ जनाको मृत्यु मुटुसम्बन्धी रोगको कारण थियो ।

अनुसन्धानकर्ताहरूले बिहानको कफी पिउनेहरूमा कफी नपिउनेहरूको तुलनामा हृदय रोगबाट ज्यान गुमाउने सम्भावना ३१ प्रतिशतले कम हुने पत्ता लगाए ।

सम्बन्धित खबर