
काठमाडौं । मौसम परिवर्तनसँगै अहिले नेपालमा ‘हङकङ फ्लू’ फैलने क्रम तीव्र बनेको छ ।
सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने ‘एचवान एनवान पीडीएम नाइन’ प्रजातिको भाइरसलाई विस्थापित गर्दै ‘एचथ्री एनटू’ प्रजातिअन्तर्गतको भाइरस अर्थात् ‘हङकङ फ्लू’ बढी फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले उज्यालोलाई जानकारी दिए।
उनका अनुसार हङकङ फ्लूले लामो समयसम्म खोकी र स्वास्थ्य समस्याहरू उत्पन्न गर्छ । यसबाट विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र दीर्घ रोगीहरू जस्तै– दम, मुटु रोग र मधुमेहका बिरामीहरूलगायतका उच्च जोखिममा पर्न सक्छन् ।
हङकङ फ्लूको सङ्क्रमण हुँदा ज्वरो, खोकी, टाउको दुखाइ, नाकबाट पानी बग्नु र घाँटी दुख्ने लक्षण देखिएका छन् । मौसमी फ्लूका जस्तै लक्षण हुने भए पनि यसमा कडा लक्षण लामो समयसम्म रहेको पाइन्छ ।
हङकङ फ्लूका कारण अहिले धेरै मानिस घरमै आराम गर्नुपर्ने अवस्थामा रहेका र अस्पतालहरूमा पनि थुप्रै बिरामी रहेका डा। पुनको भनाइ छ । केही मानिसमा कडा लक्षण पनि देखिएकोले यो भाइरसको सङ्क्रमणबाट बच्नुपर्ने उनले बताए।
अहिले नेपालमा फ्लूविरुद्धको खोप उपलब्ध रहेकाले इन्फ्लुइन्जाविरुद्धको खोप लगाउँदा अवस्था जटिल हुनबाट बच्न सकिने उनको भनाइ छ ।