२०८१ फागुन १३, मङ्गलवार , ०९:४७:३० बजे

Sajhamanch
'

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता फेरि शुरू

मङ्गलवार, फागुन १३, २०८१

झापा । भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि शुरू भएको छ ।

भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका कारण रोकिएको वार्ता फेरि शुरू गरेको जानकारी दिएका हुन ।

स्वतन्त्र व्यापार सम्झौताका लागि बेलायत र भारतबीच सन् २०२२ देखि कैयौँ चरणको वार्ता भए पनि सम्झौता हुन सकेको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार लेबर पार्टी सत्तामा आएपछि भने बेलायत र भारतबीच एफटीए वार्ता भएको यो पहिलो पटक हो । अब भने वार्ताको सम्झौतामा पुग्नु प्राथमिकता भएको भारतीय वाणिज्यमन्त्री गोयलले बताएको खबरमा उल्लेख छ ।

यसअघि गएको वर्ष नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको जी –२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री कियर स्टाररबीच भएको भेटका क्रममा एफटीएमा वार्ता पुनः शुरू गर्ने सहमति भएको थियो ।

एफटीए सम्झौतामा दुई देशले उनीहरूबीच व्यापार हुने अधिकांश उत्पादनहरूमा भन्सार महसुल पूरै हटाउने वा केही घटाउने उल्लेख छ ।

सम्बन्धित खबर