
- उमानाथ भण्डारी
कमल । सामान्यतया विद्यालयको वार्षिकोत्सव भन्नासाथ गायन, नृत्य र कविता, मुक्तक वाचन गरेर सम्पन्न हुने देख्दै आएका छौं । तर झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलको प्राङ्गणमा पुग्दा कसैले पनि विद्यालयको वार्षिकोत्सव चलिरहेको होला भनेर कल्पनासमेत गर्न सक्ने अवस्था थिएन ।
विद्यालय प्राङ्गणको वरिपरि विभिन्न किसिमका स्टल राखिएको थियो । जसमा लोपोन्मुख अवस्थामा पुगेका नेपाली परम्परागत सामग्रीहरु ठेकी, हर्पे, भुर्लुङ, मदानी, टुकी बत्ती, चुल्हो, चिण्डो लगायतका सामग्रीहरु प्रदर्शनमा थिए । कुनै स्टलमा विद्यार्थी आफैंले बनाएका विभिन्न सामग्रीले स्टल भरिभराउ थियो ।
यतिमात्र कहाँ हो र ? घरमा बुवा आमालाई घुक्र्याई घुक्र्याई खाने बानी परेका विद्यार्थीहरु यहाँ आफैं विभिन्न परिकार बनाएर अरुलाई खुवाउँदै थिए । यो दृश्य देख्दा लाथ्यो कि विद्यालयको वार्षिकोत्सव नभएर कुनै मेला पो हो कि !
वार्षिकोत्सवमा आमन्त्रित भएर विभिन्न विद्यालयबाट विद्यार्थीहरु आएकाले उनीहरुबीच एकअर्काको अनुभव आदान प्रदान गर्न कोही विद्यार्थी व्यस्त थिए भने कोही विद्यार्थी आफूले बनाएको वस्तुको वर्णन गरिरहेका थिए ।
विद्यालयको प्राङ्गणमा सम्पन्न ‘स्मारिका उत्सव’मा कमल गाउँपालिकाभरका मात्रै नभएर झापा, मोरङ्ग र सुनसरीका ४५ वटा विद्यालयका ३ हजार ५०० विद्यार्थी सहभागी थिए । उनीहरुका साथमा अभिभावक र स्थानीयबासी, सुरक्षाकर्मीसहित ५ हजार हाराहारीले कार्यक्रमको अवलोकन गरेको विद्यालय प्रशासनले जनाएको छ ।
‘स्मारिका उत्सव’को उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए । मन्त्री राईले कार्यक्रम अवलोकन पछि आफ्नो मन्तव्यका क्रममा अबको शिक्षा भनेको व्यवहारिक र प्रविधिमैत्री हुनुपर्ने औंल्याए । आफ्नो माटो सुहाउँदो पाठ्यक्रम निर्माण गरी विद्यार्थीले कमाउँदै पढ्दै गर्ने वातावरण सहित शिक्षा दिनुपर्ने आवश्यकता बनेको मन्त्री राईको भनाई थियो ।
उद्घाटन समारोहमा कोशी प्रदेश सभाका सदस्य होमबहादुर थापा, गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेलगायतले आफ्ना धारणा राखेका थिए ।
विद्यालयबाट शिक्षा मात्र होइन, मनोरञ्जन गर्दै सिकेको कुरालाई सहजरुपले विध्यार्थीले व्यवहारिक जीवनमा प्रयोगमा ल्याउन सक्नेछन् भन्ने उद्देश्य तथा विद्यार्थीहरु बीच एक आपसमा अनुभव आदान प्रदान हुनेछ भनेर नै यस्तो कार्यक्रमको आयोजना गरिएको फाउण्डर प्रिन्सिपल गुणराज गिरीले बताए ।