
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपापिलकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
आज शनिबार शिवसताक्षी ६ स्थित जनआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा शिवसताक्षी नगरका समुदायिक विद्यालय स्काउटर तथा एनसीसीका विद्यार्थीहरु मार्चपास गरेका थिए ।
त्यस्तै झिलझिले मावि एनसीसीका विद्यार्थी, मेची अंग्रेजी मावि माइधार र जनआदर्श माध्यमिक विद्यालय शिवगञ्ज र श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका दूधेका रेडक्रस सर्कलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विद्यार्थीहरुको चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेलेकोे बताए । भविष्यमा खेलकुदबाट पनि राष्ट्रको गौरव बढाउँदै खेलकुदले व्यक्तिगत जीवन पनि चलाउन सकिन्छ भन्ने कुरा अहिले राष्ट्रिय खेलाडीहरुले देखाएको नगरप्रमुख थोप्राले बताए ।
उनले नगरपालिकाले शैक्षिक सुधारका धेरै कामहरु गर्दै आएको जानकारी दिए । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्दै जाँदा विद्यार्थीका लागि अपरहार्य खेलकुद पनि रहेकाले विद्यार्थीहरुलाई यस रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मात्रै नभई नगरका विद्यालयहरुले सँधै एउटा समय खेलकुदका लागि पनि छुट्याउनु पर्ने नगरप्रमुख थोप्राको भनाई थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगर भित्र रहेका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयको सहभागिता छ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराँते, कबड्डी, दौड र तेक्वान्दो गरी ६ विधाका खेलहरु रहेका छन् ।
प्रतियोगितामा नगरका सामुदायिक तथा निजी विद्यालयहरुका ७५६ विद्यार्थीहरुले सहभागिता जनाएको शिवसताक्षी नगरपालिका शिक्षा अधिकृत छवि ढकालले जानकारी दिए ।
राष्ट्रपति रनिङ्ग शिल्ड फागुन १२ गतेसम्म सञ्चालन हुने छ । शिवसताक्षी नगरपालिकाकाबाट छनौट भएका विद्यार्थीहरुलाई जिल्लाको राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी गराइने नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. १० वडाध्यक्ष तथा सामाजिक विकास संयोजक हर्क सिगुको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन नगर प्याब्सनका अध्यक्ष तथा क्याम्ब्रिज बोर्डिङ्ग स्कूलका प्रिन्सिपल राम सुहाङ्गले गरेका थिए ।