
भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदैछ ।
आज पहिलो क्वाटरफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्स र विभागिय टोलीले नेपाल पुलिस क्लब भिड्ने भएको छ । मेची रंगशालामा हुने खेल दिनको २ः३० बजे देखि हुनेछ ।
उद्घाटन खेलमा भद्रपुर व्लेजर्सले भारत दार्जिलिङ पुलिस क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेका थिए ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दिन एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाउनेछन ।