२०८१ फागुन ९, शुक्रवार , ०७:४३:४४ बजे

Sajhamanch
'

नेपालको निर्यात व्यापार साढे ४६ प्रतिशतले बढ्यो

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । नेपालबाट वस्तु तथा सेवाको निर्यात साढे ४६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा निर्यात बढेको हो ।

विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । गएको वर्ष यही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

माघ महिनामा मात्रै २९ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएको छ । विशेषगरी भटमास र सूर्यमुखी तेलको निर्यात बढोत्तरीले समग्र निर्यात नै वृद्धि भएको छ ।

सूर्यमुखी र भटमास दुवै नेपालको उत्पादन नभई आयात गरेर प्रशोधनपछि निर्यात हुने वस्तु हुन् । पछिल्लो चार महिनादेखि निर्यात व्यापारमा उल्लेखनीय बढेको हो ।

यस्तै चालू आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १० दशमलव ०९ प्रतिशतले धेरै हो ।

साउनदेखि माघसम्ममा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६ दशमलव २० प्रतिशतले बढी हो ।

भन्सार विभागले सात महिनामा दुई खर्ब ६५ अर्ब रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १२ प्रतिशतले धेरै हो ।

सम्बन्धित खबर