
ताप्लेजुङ । ताप्लेजुङ जिल्लावासीले प्रसिद्ध तीर्थस्थल पाथीभरामा सकेसम्म चाँडै केबुलकार निर्माण सक्नुपर्ने माग गरेका छन् ।
पाथीभरामा निजी क्षेत्रबाट केबुलकार निर्माण गर्न शिलान्यास समेत भइसेकका बेला यो विषयको पक्ष र विपक्षमा विवाद जारी छ । यही विवादका कारण विकास निर्माणको काम रोकिँदा त्यसको प्रत्यक्ष असर लगानी र रोजगारीमा पर्ने सम्भावना उच्च भएको छ ।
यही विवादबीच ताप्लेजुङवासीले पाथीभरामा कुनै पनि हालतमा केबुलकार निर्माण गर्नुपर्ने र सकेसम्म चाँडै काम सक्नुपर्ने माग गर्दै नागरिक सद्भाव र्याली निकालेका छन् ।
जिल्ला सदरमुकाम फुङलिङमा निकालिएको सद्भाव र्यालीमा ताप्लेजुङवासीले पाथीभरा देवी दर्शन गर्न स्वदेश तथा विदेशबाट आउने हजारौं–लाखौं तीर्थयात्रीको सहज आवागमनका लागि केबुलकार निर्माण चाँडै सक्नुपर्ने माग गरेका हुन् ।
सद्भाव र्यालीमा सहभागी सयौं जिल्लावासीले ‘ताप्लेजुङले के भन्छ ? केबुलकार ल्याऊ भन्छ’, ‘स्थानीयवासी के भन्छन् ? केबलकार ल्याऊ भन्छन्’ जस्ता नारा लगाउँदै सदरमुकाम परिक्रमा गरे ।
र्यालीपछि सदरमुकाम फुङलिङमा आयोजित भेलामा जिल्लावासीले केबुलकार निर्माणबाट समग्र जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै सकेसम्म चाँडै निर्माण सक्नुपर्ने माग गरे ।
सद्भाव र्याली आयोजकले पाथीभरा आउने तीर्थयात्रीको सहजताका लागि केबुलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्याली निकालिएको हो ।
‘ताप्लेजुङ विकासप्रेमी नागरिक समाज’ को आयोजनामा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको र्यालीले सदरमुकामका विभिन्न स्थान परिक्रमा गरेको थियो ।
‘बृहत नागरिक सद्भाव र्याली’ लेखिएको ब्यानर सहित उक्त सद्भाव र्यालीमा नौमती बाजा र च्याब्रुङ लगायत विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।