
झापा । संयुक्त राष्ट्र सङ्घले सुडान भित्र र छिमेकी देशमा चलिरहेको द्वन्द्वबाट दुई करोड ६० लाख सुडानी नागरिक प्रभावित भएका जनाएको छ । उनीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय अपीलसमेत गरेको छ ।
मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसीएचए) ले सन् २०२५ मा सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको शुरुवात घोषणा गरेको छ ।
जसमा सुडान भित्रका लगभग २१ लाख मानिस र छिमेकी देशमा रहेका पाँच लाख शरणार्थीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलर चाहिने मानवीय मामिलाका लागि उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले बताए।
दुई वर्षदेखिको द्वन्द्वले सुडान र सीमापारका एक करोड २० लाख मानिस विस्थापित भएका छन् । सुडानमा सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलहरू बीचको द्वन्द्वमा फसेको छ ।
यसैबीच दक्षिण सुडानमा संयुक्त राष्ट्र मानव अधिकार आयोगका विज्ञहरूले मानव अधिकारको अवस्थाबारे छलफल गर्न चार दिने भ्रमण शुरू गरेका छन् ।
आयोगले दक्षिण सुडानको मानवअधिकार अवस्थाको बारेमा आफ्नो पछिल्लो निष्कर्ष अर्को हप्ता जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।