
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा कूटनीतिक आक्रमण गर्न थालेपछि युरोपेली नेताहरू सशङ्कित भएका छन् ।
दोस्रो विश्वयुद्धपछि एउटै लयमा रहेका र शीत युद्धको समयमा सोभियत सङ्घको सामना गर्न एक भएकोमा पछिल्लो हप्ता अमेरिकी राष्ट्रपतिको कदमले युरोपली नेताहरूलाई सशङ्कित बनाएको हो ।
अब अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने बारेमा छलफल गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँनले आज पेरिसमा युरोपेली सङ्घ (ईयू) का सदस्य र बेलायतका नेताहरूलाई बोलाएक छन् ।
ट्रम्पले पछिल्लो हप्ता युक्रेनसँग सहयोगको बदलामा खनिज पदार्थमा आधा स्वामित्व माग्नुका साथै रुस–युक्रेन युद्ध अन्त्यका लागि एकतर्फी वार्ता शुरू गरेका छन् ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नुसँगै रुस–अमेरिका विदेशमन्त्रीस्तरीय वार्ता भएर पनि साउदी अरबमा शान्ति वार्ता तोकिएको छ । तर त्यसमा युद्धको चपेटामा परेको युक्रेन र युक्रेनलाई सघाउन सामूहिक प्रयास गरिरहेका युरोपेली देशलाई बोलाइएको छैन ।
ट्रम्पले चुनाव अघिदेखि नै ईयूविरुद्ध चेतावनीहरू दिइरहेका छन् । तर त्यस्ता चेतावनीमा चुप रहेका युरोपेली नेताहरू एकतर्फी शान्ति वार्ता शुरू भएपछि जुट्न थालेका हुन् । जर्मनीकी विदेशमन्त्री अन्नालेना बेयरबकले यो हप्तालाई अस्तित्वको क्षण भन्नुभएको समाचार संस्था एपीले जनाएको छ ।