२०८१ फागुन ८, बिहिवार , ०४:२८:१२ बजे

Sajhamanch
'

विकास र समृद्धिका लागि तीनै तहका सरकारबिच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली

सोमवार, फागुन ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।

प्रधानमन्त्री ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे । उनले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्धि बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए । संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ ।

हालै निर्माणसम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने बताउँदै उनले रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्ने बताए । “यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन”, उनले भने । सिँचाइ आयोजना सफल बनाउँदै कृषि क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले एक हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकामा प्रशंसा व्यक्त गरे । “यो अस्पताल भवन प्रदेश सरकारको रू ६ अर्ब १८ करोड लागतमा बन्न लागेको पहिलो ठुलो पूर्वाधार हो । तर केन्द्र सरकारले एक हजार शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य आवश्यक छ ।”

स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरेर मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने प्रधानमन्त्रीको विश्वास छ । प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने, “मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चीज हो । डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ । ठिक सदुपयोग गर्न सक्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबिच समन्वय र सहकार्य अपरिहार्य रहेकामा जोड दिए । “हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौँ”, उनले भने । प्रदेशहरूले कानुनी संरचना निर्माण गर्दा सङ्घीय सरकारद्वारा स्थापित मौजुदा कानुनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

सम्बन्धित खबर