
काठमाडौं । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका वडा नं. ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गंगा शर्मा रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको जानकारी आएको सेनले बताए। गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह ९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।
उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीइ प्रहरीबाट जानकारी आएको इन्स्पेक्टर सेनले बताए ।
फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।