![](https://sajhamanch.com/wp-content/uploads/2025/02/kamal-sportweek.jpeg)
कमल । कमल गाउँपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु गरिएको छ ।
कमल ३ स्थित केर्खा खेल मैदानमा आयोजित प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ४ गते सम्पन्न गर्ने कार्यक्रम बनाइएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष राईले पछिल्लो समय राज्यले शिक्षा र खेलकुदका क्षेत्रमा धेरै नै लगानी गरेको बताए । हरेक खेलकुदका विधाहरुको महत्व उत्तिकै छ, त्यसैले विद्यार्थीलाई किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा जोड्दै आफ्नो र देशको नाम चिनाउनका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष राईले बताए ।
अर्का वक्ता गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले यस्ता प्रतियोगिता मार्फत विद्यार्थीले आफू भित्र रहेको क्षमतालाई अभिवृद्धि गर्दै अनुशासित र मर्यादित हुनलाई ठूलो सहयोग गर्ने सुनाइन् ।
शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा खेलाडीलाई नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षा समिति सदस्य बद्री कार्कीले शाब्दिक स्वागत गरेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राको लागि छुट्टाछुट्टै १५ सय मिटरको दौड, छात्रछात्राको लागि छुट्टाछुट्टै सटफुट लगायतका खेल समावेश छन् ।