शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप उक्त संख्याका किशोरीलाई लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
तथ्याङ्क अनुसार कक्षा ६ मा अध्ययन गर्ने ६४२ जना छात्रा, कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने २ हजार ३८९ छात्राले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले जानकारी दिए । विद्यालय नजाने १० वर्षीय एक जना र ११ वर्ष देखि १४ वर्षका १०३ जना किशोरीलाई पनि खोप लगाइएको अधिकारीले जानकारी दिए ।
खोप अभियानलाई स्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेश बाराकोटी लगायतको टिमले अनुगमन गरेको जनाइएको छ ।
खोप अभियानमा खोप लगाउन तोकिएको उमेर समूहका किशोरीहरु नछुटुन् भन्ने उद्देश्यले शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र नगर उपप्रमुख नरमाया कार्कीले विभिन्न समयमा आफूहरु नै अनुगमनमा निस्किएका तथा प्रचार प्रचारमा जुटेको पाइएको थियो ।
खोप अभियान सकिए पनि शिवसताक्षी नगरपालिकाले अभियानका क्रममा छुटेका किशोरीहरुलाई नगरको स्वास्थ्य केन्द्रहरुमा अझै केही दिन खोप लगाउने जनाएको छ ।