![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Pathivara_Devi_Temple.jpg)
ताप्लेजुङ । पाथीभरामा माघ महिनाभरी नै द्वन्द्व चल्यो । माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा गोली नै चल्यो । तर यहा आउने तीर्थयात्रीको संख्यामा भने कमी आएन । पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक अनुसार यो महिनामा ४ हजार २४९ तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् ।
जसमा अधिकांश ताप्लेजुङ जिल्लाबाहिरका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो अवधिमा १० लाख ४० हजार ३०० रुपैयाँ भेटी संकलन भएको छ ।
माघ १५ देखि २२ गतेसम्म ताप्लेजुङ प्रवेश गर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द भएको थियो । बन्दका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीर्थयात्रीको उद्धार गरेर गन्तव्यमा पुर्याएका थिए । आफ्नो मेसमा खाना खुवाएर सरकारी गाडीमा एस्कर्टिङ गरेर पनि दर्शनार्थीलाई पाथीभरासम्म पुर्याएका थिए ।
पाथीभरामा वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री आउने गरेको तथ्यांक क्षेत्र विकास समितिसँग छ । माथिल्लो फेदीमा तीर्थयात्रीको संख्या गणना गरिन्छ भने मन्दिर क्षेत्रमा संकलित रकम सदरमुकाम फुङलिङ ल्याएर गणना गर्ने र बैंकमा जम्मा गरिन्छ ।