२०८१ फागुन १, बिहिवार , १०:४७:०८ बजे

Sajhamanch
'

‘नो केबलकार समूह’संग सहमति नजुटेपछि कोशी प्रदेशमा सुरक्षा व्यवस्था कडा

बिहिवार, फागुन १, २०८१

विराटनगर । ‘नो केबलकार समूह’संगको वार्तामा सहमति नजुटेपछि कोशी प्रदेशको १४ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले केबलकार विरोधीहरुले आगामी दिनहरुमा के कस्ता गतिविधि गर्न सक्छन् त्यसको भरपर्दो सूचना संकलन गर्न र सोही अनुसारको सुरक्षा योजना बनाइ आ–आफ्नो इलाकामा सुरक्षाको प्रबन्ध मिलाउन मातहतका युनिटहरुलाई निर्देशन दिएका छन् ।

मुक्कुमलुङ,सेमुक्तु मुक्तुबो माङको संरक्षण तथा केबलकार निर्माण खारेजीको माग राख्ने पक्षसंग भएको वार्ता हालसम्म टुंगिनसकेको हुँदा आगामी दिनहरुमा उक्त समूहले गर्न सक्ने गतिविधिप्रति सजग रहन निर्देशन आएको एक प्रहरी अधिकारीले बताए ।

केबलकार विरोधी समूहले दोस्रो चरणको आन्दोलन जारी राखेका छन् । उनीहरुले ग्लोबल आईएमई बैंकको कोशी प्रदेशका शाखाहरुमा धर्ना दिने कार्यक्रम गरिरहेका छन् । उनीहरुले फागुन ७ गतेसम्म धर्ना, पदयात्रा, फुङलिङ नगरपालिका घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

हिजो बिर्तामोडको शनिश्चरे रोडस्थित ग्लोबल आईएमई बैंक बिर्तामोड शाखा कार्यालय अगाडि उनीहरुले धर्ना दिएका थिए । मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका झापा जिल्ला संयोजक एवं किरात याक्थुङ चुम्लुङका बिर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीका प्रदेश नं. १ का अध्यक्ष धनबहादुर पन्धाक, पहिचानवादी मोर्चाकी संघीय सदस्य शर्मिला आङदम्बे लगायत करिब १५ जना कार्यकर्ताहरु भेला भई विभिन्न नाराहरु लगाउँदै प्लेकार्ड बोकेर ग्लोबल आईएमई बैंक अगाडि धर्ना दिएका थिए ।

त्यस्तै आन्दोलनरत समूहले ताप्लेजुङ सदरमुकाम फुङलिङमा ग्लोबल आइएमई बैंकमा धर्ना दिएको छ । धर्नाका कारण बैंकले दिने सेवा प्रवाह प्रभावित भएको छ । धर्ना सुरु भएपछि बैंकले सटर बन्द गरेको थियो ।

सम्बन्धित खबर