२०८१ माघ २८, सोमवार , ०७:३५:०२ बजे

Sajhamanch
'

पूर्व प्रअ रिजालले दिए इभी मोटरसाइकल बनाउने युवालाई २० हजार रुपैयाँ प्रोत्साहन

सोमवार, माघ २८, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीनजना विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थी मिलेर इभी मोटरसाइकल निर्माण गरेका छन् ।

राष्ट्रिय रमणीयका प्रशन्न दवाडी, सन्देश बराल, निशान शंकर र क्याम्ब्रिजका उज्ज्वल घिमिरेले इभी मोटरसाइकल निर्माण गरेका हुन् ।

मोटरसाइकल निर्माण गर्ने चार जना विद्यार्थीहरुलाई दूधे माविका पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो जन्म दिनको अवसर पारेर आइतबार नगद प्रदान गरी मेधावी विद्यार्थीहरुलाई प्रोत्साहन गरेका छन् ।

‘आफू ६० वर्ष पुगेको र जीवनका ३५औं वर्ष यही विद्यालयमा अध्यापन गराएकाले हाम्रा यी मेधावी विद्यार्थीहरु जसले इलेक्ट्रिक मोटरसाइकल बनाए, उनीहरु ४ जनालाई प्रोत्साहन स्वरुप जनही ५ हजार र अतिरिक्त क्रियाकलपमा अग्रणी भूमिका खेल्ने विराट लामगादेलाई ५ हजार रुपैयाँ प्रदान गरेको छु’ पूर्वप्रअ रिजालले सुनाए । नयाँ सोच र नयाँ काम गर्न चाहने विद्यार्थीहरुलाई सँधै हामीले हौसला प्रदान गर्दै अगाडि बढाउनु पर्छ उनको भनाई थियो ।

विद्यार्थीहरुले निर्माण गरेको मोटरसाइलमा पुरानो बाइकको चेचिस, पांग्रालगायतको सामग्रीहरु प्रयोग गरिएको छ । मोटरसाइकलको अगाडि डिक्स ब्रेक र डिजिटल डिस्प्ले रहेको विद्यार्थी प्रशन्न दवाडीले बताए ।

मोटरसाइकल प्रति घण्टा ४७ किलोमिटरको गतिसम्म कुदाउन मिल्छ । उनले भने, हामीले यो पाँच दिन लगाएर निर्माण गरेका हौं । जसमा भएको ब्याट्रीले मोटर चलाउँछ र इलेक्टोनिक्स डिभाइस मार्फत मोटरको पावर सन्तुलन मिलाई मोटरसाइकल गुड्ने गर्छ ।

स्थानीय ग्यारेजमा मोटरसाइकल निर्माण गरिएको विद्यालयले जनाएको छ । मोटर साइकल निर्माण गर्न शिवसताक्षी नगरपालिकाले प्रोत्साहन स्वरुप १७ हजार रुपैयाँ प्रदान गरेको विद्यार्थी सन्देश बरालले जानकारी दिए ।

मोटरसाइल फूलचार्ज गर्न २ घण्टा लाग्ने सेन्सरसहितको भएको बरालले बताए ।
चार जना विद्यार्थीले गएको वर्ष चार पाङ्ग्रे गाडी समेत निर्माण गरेका थिए । त्यही गाडीको पुराना सामानहरुको सहयोगमा मोटर साइकल निर्माण गरेको उनीहरुको भनाई छ । मोटर साइकल निर्माण गर्न बस्नेत गृल, रविन सिटी सेन्टरले सहयोग गरेको बताइएको छ ।

मोटरसाइकल सार्वजनिक गर्दा, मोटर साइकल निर्माण गर्ने विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उनीहरुको कामलाई प्रशंसा गरेका थिए । नगरप्रमुखले उक्त मोटरसाइकलसमेत कुदाएका थिए ।

सम्बन्धित खबर