झापा । संसारकै धनी व्यक्ति एलन मस्कले ‘टिकटक’ किन्न आफ्नो रुचि नभएको बताएका छन् । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले टिकटक बन्द गर्ने तयारी गरिरहँदा एलन मस्क वा ‘माइक्रोसफ्ट’ ले टिकटकको अमेरिकी स्वामित्व किन्न सक्ने हल्लाहरू फैलिएका छन् ।
अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै मस्कले टिकटक किन्न सक्ने बताएका थिए। तर एक भिडियो सन्देशमा मस्कले आफूले टिकटक किन्ने कुनै योजना नबनाएको र रुचि पनि नभएको बताएको रोयटर्सले जनाएको छ ।
सामाजिक सञ्जालका रूपमा आफूसँग भएको ‘एक्स’ कम्पनीले अहिले पनि उत्तिकै चर्चा बटुलिरहेकाले अर्को सामाजिक सञ्जाल किन्न जरुरी नभएको पनि मस्कले बताएका छ । स्थापित कम्पनी नकिन्ने बरु नयाँ कम्पनी नै स्थापना गरेर त्यसलाई सफलतामा पुर्याउने आफ्नो बानी रहेको उनको भनाइ छ ।
निवर्तनमान अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको अमेरिकी स्वामित्व बेच्न वा सेवा बन्द गर्न गएको जनवरी १९ सम्मको समय दिनुभएको थियो ।
टिकटकले स्वामित्व नबेचेपछि अदालतले पनि टिकटक बन्द गर्ने फैसला गरेको थियो । तर डोनाल्ड ट्रम्पले शपथ लिएकै दिन टिकटकलाई विकल्प खोज्न एक महिनाको समय दिएर पुनः खुला गरिदिएका छन् ।
‘एप्पल’ र ‘गुगल’ ले अमेरिकी कानून लागू भएपछि टिकटकलाई आफ्नो ‘एप स्टोर’ मा पुनर्स्थापित गरेका छैनन् । अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् ।