२०८१ माघ २७, आइतवार , ०३:५६:५७ बजे

Sajhamanch
'

प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन : प्रधानमन्त्री ओली

आइतवार, माघ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठनका लागि बसेको समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मूलुकको लागि सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिन नै प्रजातन्त्र दिवस रहेको बताए ।

‘मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरम समेत मनाउन आग्रह गरे ।

‘यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

बैठकले गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय पनि भएको छ ।

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सम्बन्धित खबर