
काठमाडौं । सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यही माघ १८ गते देखि महोत्सव सञ्चालन भइरहेको थियो । सुख्खायामसँगै पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति बिहानदेखि हिजो बिहानसम्ममा देशभरका १४ ठाउँमा आगलागी हुँदा १८ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको थियो । यस्तै गएको पुष १ गतेपछि काठमाडौंमा मात्रै आगलागीका ३४ वटा घटना भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
हिजो सिंहदरबारमा रहेको खानेपानी मन्त्रीकै कार्यकक्षमासमेत आगलागी भयो । जिल्ला प्रहरी परिसरले सूचना निकालेर आगलागीबाट जोगिन र ध्यान दिन सबैमा अनुरोध गरेको छ । प्रहरीले घरमा आगो लागिहालेमा प्रहरी वा अरू निकायलाई जानकारी दिन र सकेसम्म चाँडो घरमा रहेका मानिस बाहिर निस्कन भनेको छ ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगलागीका घटना बढेका भन्दै सचेत रहन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आफू सचेत हुँदा धेरै रोकिन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताए। धेरैजसो आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्नेमा उनको जोड छ ।