झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा बिस्तारित दोस्रो सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज माघ २४ गते आफ्नो १४औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा संस्थाले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक साकोसले झापा र पाँचथरका ३ वटा विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो ।
आज बिर्तामोड ६ स्थित सरस्वती माविमा कक्षा १ देखि ७ सम्म अध्ययनरत १६२ जना विद्यार्थीहरलाई संस्थाले स्कूल ब्याग वितरण गरेको हो । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको हो ।
व्याग वितरण कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको स्थापना दिवस कर्मचारीहरु र सञ्चालकहरु एक ठाउँमा भेला भएर केक काटेर रमाउँदै गर्न पनि सकिन्थ्यो तर यस दिनलाई समाजका बीचमा सामुदायिक हितहुने काम गर्ने निर्णय गरिएको जानकारी दिए ।
विगतका वर्षहरुमा पनि विभिन्न समयमा आफ्नो कार्यक्षेत्रभित्र न्यानो कपडा वितरण, शैक्षिक सामग्री, वृद्धवृद्धाहरुलाई ब्लाङकेट वितरण गर्दै आएको उनको भनाई छ । सिम्रिक साकोसले नाफाको ५ प्रतिशत रकम सामाजिक सेवामा खर्च गरिरहेको बस्नेतको भनाई छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममका प्रमुख अतिथि नगर प्रमुख प्रसाईले राज्यले गर्नुपर्ने काम सिम्रिकले गर्दै आएकोमो धन्यवाद दिइन् । उनले सहकारी क्षेत्रले पनि सामाजिक रुपमा ठूलो योगदान गर्न सक्ने धारणा व्यक्त गरिन् ।
सहकारीको माध्यमबाट धेरैलाई रोजगारीसमेत दिइरहेको स्मरण गर्दै नगरप्रमुख प्रसाईंले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा यस्तो कार्यक्रम गरेर सिम्रिकले समुदायमा माया बाँडिरहेको बताइन् ।
संस्थाले आजै पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ४ मा रहेको सिद्धकाली प्राविका २९ जना विद्यार्थीलाई विद्यालय पोशाक र भद्रपुर ४ स्थित महेशपुर आधारभुत विद्यालयका ९० जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री स्कूल ब्याग प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापकले शाब्दिक स्वागत गरेका थिए ।
संस्थाका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्थानीय शिक्षासेवीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु एवम् अभिभावकहरुको उपस्थिति रहेको थियो ।