![](https://sajhamanch.com/wp-content/uploads/2025/02/pic3_gIUvzsvfUM.jpg)
झापा । अमेरिकाले अब आफ्ना जहाजहरू पानामा नहरबाट कुनै शुल्क नतिरी जान पाउने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले पानामा नहर हुँदै जाने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्न नपर्ने र यसबाट अमेरिकाको प्रत्येक वर्ष करोडौं डलर बचत हुने बताएको हो । अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा यसबारे जानकारी दिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को दबाबपछि अमेरिकी जहाजहरूले पानामा नहरबाट विना कुनै शुल्क पार गर्न अनुमति पाएका हुन् ।
अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा पानामा नहर चीनले सञ्चालन गरिरहेको दाबी गरेका थिए। अमेरिकाले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउँदै आएको छ ।
ट्रम्पले पानामा नहर हुँदै जाने अमेरिकी जहाजबाट लिइएको चर्को शुल्कलाई उद्धृत गर्दै नहर फिर्ता लिने धम्की दिएका थिए।
पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो । यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ ।
संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरको निर्माण गरेको थियो । हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन् । तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ ।
यो नहर पानाको अर्थतन्त्रको मुख्य स्रोत हो । यसबाट पानामाले वार्षिक अर्बौं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ ।