२०८१ माघ २३, बुधवार , ०९:५३:५९ बजे

Sajhamanch
'

दिल्ली विधानसभाको चुनाव सुरु, १३२ उम्मेदवार आपराधिक मामलाका आरोपी

बुधवार, माघ २३, २०८१

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनाव सुरु भएको छ । दिल्लीका सबै ७० सिटमा बिहान सात बजेदेखि चुनाव सुरु भएको हो । आज भएको निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ ।

निर्वाचनमा ६९९ उम्मेदवार छन् । उनीहरुको भाग्य परीक्षा एक करोड ५६ लाख मतदाताको हातमा छ । दिल्लीमा १८ प्रतिशत स्वीङ भोटर्स रहेका र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्लीको सत्ता लगातार तेस्रो पटक हात पार्ने दाउँमा आम आदमी पार्टी (आप) छ । आपलाई रोक्ने प्रयासमा भाजपा र कांग्रेस लगायत दल छन् ।

लगातार तीन वर्ष केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपा दिल्ली प्रदेशको सरकारमा भने २५ वर्षदेखि बाहिर छ । आम आदमी पार्टी सरकारको नेतृत्वमा आउनुअघि कांग्रेसले १५ वर्षसम्म दिल्लीको सत्ता चलाएको थियो । तर विगतका दुई निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेको छैन ।

७० सिटमध्ये भाजपाले ६८ सिटमा उम्मेदवार उतारेको छ । दुई सिट भने उसले आफ्ना सहयोगी दललाई दिएको छ । उसका सहयोगी दल जनता दल युनाइटेड (जेडीयू) र रामविलाश नेतृत्वको लोक जनशक्ति पार्टी ९एलजीपी–आर०लाई दिएको छ ।

महाराष्ट्र प्रदेश सरकारमा भाजपाको सहयोगी दल राष्ट्रवादी कांग्रेसले दिल्लीको चुनावमा ३० सिटमा उम्मेदवारी दिएको छ ।शिवसेना प्रमुख एवम् महाराष्ट्र सरकारका उपमुख्यमन्त्री एकनाथ शिन्देले सबै सिटमा भाजपालाई सघाएका छन् ।

यसैगरी बहुजन समाज पार्टीले ७० र असदुद्दीन ओवसीसीको अल इण्डिया मजलिस ए इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको छ ।

निर्वाचनमा कम्युनिष्ट पार्टी अफ इण्डिया (सीपीआ), कम्युनिष्ट पार्टी अफ इण्डिया–मार्क्सवादी (सीपीएम) र कम्युनिष्ट पार्टी अफ इण्डिया– मार्क्सवादी लेनिनवादी (सीपीआई–एमएल)ले २–२ सिटमा उम्मेदवारी दिएका छन् ।

१३२ उम्मेदवार आपराधिक मामलाका आरोपी

भारतको केन्द्र राजधानी दिल्लीको विधानसभा निर्वाचनका लागि १३ हजार ७६६ बुथ बनाइएको छ । तीमध्ये तीन हजार मतदान केन्द्र संवेदनशीलको सूचीमा राखिएको छ ।

सुरक्षाका लागि अर्धसैनिक बलका २२० कम्पनी, ३५ हजार ६२६ दिल्ली पुलिसका जवान र १९ हजार होमगार्ड तैनाथ छन् । मतदानस्थल प्रहरीले ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

एसोशिएसन फर डेमोक्रेटिक रिफर्मको रिपोर्टअनुसार अहिलेको निर्वाचनको उम्मेदवारहरुमध्ये करिब १९ प्रतिशत अर्थात् १३२ जना आपराधिक छविका छन् । तीमध्ये ८१ जनामाथि हत्या, अपहरण, बलात्कार जस्ता गम्भीर आरोप छन् । १३ उम्मेदवार महिलाहरु पनि आपराधिक मामलाका आरोपी छन् ।

केजरीवालविरुद्ध २ पूर्वमुख्यमन्त्रीका छोराहरु प्रतिस्पर्धामा

आम आदमी पार्टीका संस्थापक एवम् पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पनि चुनावमा प्रतिस्पर्धामा छन् । उनीविरुद्ध दुई जना उम्मेदवार पूर्वमुख्यमन्त्रीका छोराहरु छन् ।

उनीविरुद्ध भाजपाले अर्का पूर्वमुख्यमन्त्री साहिब सिंह बर्माका छोरा प्रवेश बर्मालाई उतारेको छ । प्रवेशका बुवा साहिब सन् १९९६ देखि १९९८ सम्म दिल्लीको मुख्यमन्त्री थिए ।

यसैगरी कांग्रेसले पनि पूर्वमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षितलाई प्रतिस्पर्धामा उतारेको छ ।

उनै शीला दीक्षितलाई सन् २०१३ को चुनावमा २५ हजारभन्दा बढी मतान्तरले हराएका अरविन्द केजलरीवाल मुख्यमन्त्री बनेका थिए । त्यसयताका चुनावहरुमा केजरीवालले नै जित्दै आएका छन् । सन् २०२० मा केजरीवालले ६१.४ प्रतिशत भोट पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी सुनिल कुमालले २८.५ प्रतिशत भोट ल्याएर हारेका थिए ।

केजरीवाल मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री बनेकी आतिशी सिंह पनि अहिले चुनाव लडिरहेकी छन् ।

उनीविरुद्ध भाजपाले पूर्वसांसद रमेश बिधुडीलाई उतारेको छ । उनी दक्षिणी दिल्लीको सिटबाट दुईपटकसम्म सांसद बनिसकेका व्यक्ति हुन् ।

सम्बन्धित खबर