२०८१ माघ २२, मङ्गलवार , ०९:३९:४२ बजे

Sajhamanch
'

विश्व क्यान्सर दिवस : ९५ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो ।

यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र उपचार जटिल हुने जोखिम हुन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने र प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए।

क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीको भनाइ छ ।

उनका अनुसार क्यान्सरका चार चरणमध्ये शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ ।

यसैबीच नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा।उज्जवल चालिसेले बताए। क्यान्सरको उपचार नेपालमा विश्वको तुलना सस्तो रहेकोले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने उनको भनाइ छ ।

जाँडरक्सी र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत क्यान्सरका मुख्य कारण हुन् । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा हरेक वर्ष २० हजारभन्दा धेरै क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।

नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।

सरकारले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमसँगै क्यान्सर पीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए।

सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाख रुपैयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप एक लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।