झापा । यौन दुर्व्यवहारको तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतले घोषणा गरेको छ ।
एआई उपकरणविरुद्ध बेलायत सरकारले अस्ति शनिवार कानूनको घोषणा गरेको हो । योसँगै एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्वीर बनाउने कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो देश बनेको छ ।
बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई बेलायतको सरकारले गैरकानूनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
गृहमन्त्री कूपरले अनलाइन बाल यौन दुर्व्यवहार सामग्रीसँगै किशोर किशारीहरूलाई अनलाइनमार्फत एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि बढेकोले नयाँ कानून ल्याएर बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउन लागेको बताउनुभएको खबरमा उल्लेख छ ।
बेलायतमा भएको एक अनुसन्धानले हरेक वर्ष झण्डै पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुर्व्यवहारको सिकार हुने गरेको देखाएको छ ।