शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले आफ्नो ५५औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा उत्कृष्ट काम गर्ने पाँचजना शिक्षक र एक कर्मचारीलाई सम्मान गरेको हो ।
सो विद्यालयले शिक्षक युवराज आङदेम्बे, अरुण रेग्मी, मोनिका मोक्तान, अस्मिता राई, लीला गेलाल र कर्मचारी छविलाल दवाडीलाई सम्मान गरेको हो ।
उनीहरुलाई संघीय सांसद लालप्रसाद सावाँ, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै सासद सावाँले सो विद्यालयमा आफूले पनि अध्ययन गरेको र धेरै जनप्रतिनिधिहरुले अध्ययन गरेको विद्यालय भएको बताए । ‘यहाँको भौतिक अवस्था पहिलेको भन्दा सुधार भएका छन् । केही भवन र साइन्स ल्यावहरु थप्नु पर्ने भएको छ । आवश्यकताका आधार हामी त्यसतर्फ पनि जोड दिँदै जानेछौं’ संसाद सावाँले आश्वासन दिएका छन् ।
विद्यालयको वार्षिकोत्सव कै अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थाहरुले उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
छात्रवत्ति पाउनेहरुमा काठमाडौ खेवाङ्ग हातेमालो समाज छात्रवृत्ति कार्यक्रम अन्तर्गत कक्षा १२ मा उत्कृष्ट ग्रेड हासिल गर्ने निर्मला पराजुली र प्रभा राईलाई २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै, उमा–उर्मिला छात्रवृत्ति अक्षयकोषबाट ८ हजार ६०० रुपैयाँ २०८० सालको एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने प्रज्वल मैनाली र हिमाली काफ्लेलाई प्रदान गरिएको छ ।
त्यसैगरी, जयनारायण–अयोध्यादेवी खनाल छात्रवृत्ति पाउने गरिब तथा जेहेन्दार विद्यार्थीको रुपमा अभिषेक राई र बविता लिम्बूलाई ६–६ हजार रुपैयाँ प्रदान गरिएको विद्यालयले जनाएको छ ।
हरिप्रसाद–हरिमाया रिजाल अक्षयकोष छात्रवृत्ति वितरणमा अरुण विक र देउकुमारी खड्कालाई ५–५ हजार रुपैयाँ प्रदान गरियो ।
मनमाया माङ्धुम्बो थेवे स्मृति छात्रवृत्ति अन्तरगत २०८० सालको कक्षा ८ बाट उत्कृष्ट जिपीए ल्याउने ओत्साङ्ग लिम्बू र कक्षा ९ बाट उत्कृष्ट जिपीए ल्याउने खुशी लिम्बूलाई ६–६ हजार रुपैयाँ प्रदान गरिएको छ ।
सिंहधन–राधिका राई अक्षयकोष छात्रवृत्तिमा विद्यार्थी एरोन चौधरी, भूमिका धिमाल र रिमा गुरुङ्गलाई प्रदान गरिएको विद्यालयका शिक्षक गोविन्द काफ्लेले जानकारी दिए ।
सतासीधाम जेसीज वर्ष २०२४ का अध्यक्ष पदमजंग कुँवरले विद्यालयका गरिब तथा जेहेन्दर विद्यार्थीको अभिावकत्व ग्रहण गर्ने गरेका छन् । उनले विद्यार्थी संज्योक श्रेष्ठलाई १० हजार रुपैयाँ प्रदान गरे ।
विद्यालयले वार्षिकोत्सवकै अवसर पारेर शुद्ध खानेपानी उपलब्ध गराउने वातावरण संरक्षण केन्द्र नेपाल र विभिन्न समयमा विद्यार्थीहरुलाई निःशुल्क न्यानो कपडा प्रदान गरेको श्री रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरलाई सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
सो कार्यक्रममा विद्यार्थीहरुले बनाएका विभिन्न हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।
विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुबाट नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रा, कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिन लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द काफ्ले र सुस्मिता राईले गरेका थिए ।