२०८१ माघ २४, बिहिवार , ०७:०९:१३ बजे

Sajhamanch
'

भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटी अन्त्य हुन आवश्यक : सभामुख घिमिरे

बिहिवार, माघ १७, २०८१

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय सरकारहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

‘शिक्षाको विकास नभई समृद्धि कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘अब सैद्धान्तिक शिक्षासँगै प्राविधिक शिक्षा मुलुकको आवश्यकता बनिसकेको छ । त्यसैले स्थानीय सरकारहरूले आफ्नो पहिलो प्राथमिकता शिक्षालाई नै बनाउनु पर्दछ ।’

अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको उनको टिप्पणी छ । सभामुख घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको पनि चर्चा गरे ।

‘‘भौतिक विकास पनि चाहिन्छ । तर, त्यो मात्र विकास होइन, प्राविधिक शिक्षामा लगानी बढाएर दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने मात्रै दीगो विकास सम्भव हुन सक्छ,’ उनले भनेका छन् ।

सभामुख घिमिरेले नयाँ संविधानले स्थानीय सरकारलाई प्रशस्त अधिकार दिएकाले पहिले पहिलेजस्तो केन्द्रको मुख ताकेर बस्न नहुने पनि बताए ।

‘मुलुकमा संघीय प्रणाली स्थापना पछि तीन तहको सरकार रहने व्यवस्था छ । त्यसैले स्थानीय सरकारले अब आफ्ना आवश्यकताको पहिचान गरेर गुरुयोजना निर्माण गरेर मात्र अगाडि बढ्नुपर्दछ,’ उनले सुझाव दिएका छन् ।

उनले असल सिर्जना र श्रममा आधारित प्राविधिक शिक्षाको अभावमा मुलुकको ठूलो जनशक्ति विदेश गइरहेको चर्चा गर्दै कतिपय नकारात्मक प्रवृत्तिको लहैलहैमा लागेर पनि विदेशिएको जिकिर गरे ।

सभामुख घिमिरेले स्थानीय तहलाई आफ्नो क्षेत्रमा राम्रो प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालन गर्न सुझाव पनि दिए ।

सम्बन्धित खबर