झापा । टोयोटा कम्पनी लगातार पाँचौं वर्ष पनि विश्वमै सबैभन्दा धेरै कार बेच्ने कम्पनी बनेको छ । समाचार संस्था रोयटर्सका अनुसार गएको अङ्ग्रेजी वर्ष सन् २०२४ मा टोयोटाले विश्वभर एक करोड आठ लाख वटा कार बिक्री गरेको छ ।
जापानी कार निर्माता कम्पनी टोयोटाको बिक्री गएको वर्ष ३ दशमलव ७ प्रतिशतले घटे पनि विश्वकै ठूलो कम्पनी बनेको खबरमा उल्लेख छ । गएको वर्ष सबैभन्दा धेरै जापानमा नै टोयोटाको बिक्री घटेको छ ।
दोस्रो स्थानमा रहेको जर्मन प्रतिद्वन्द्वी फक्सवागनले ९० लाख वटाभन्दा धेरै कार बेचेको छ । फक्वागनको बिक्रीमा पनि २ दशमलव ३ प्रतिशतले कमी आएको छ । गएको वर्ष टोयोटा र फक्सवागन दुवै ब्रान्डका कारको बिक्री चीनमा पनि उच्च गतिले घटेको छ ।
विश्वभर हाइब्रिड र विद्युतीय गाडीको बिक्री बढे पनि चीनमा भने मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा टोयोटा र फक्सवागनका गाडी बिक्रीमा कमी आएको खबरमा उल्लेख छ ।