२०८१ माघ १६, बुधवार , ०४:३२:५९ बजे

Sajhamanch
'

डेनमार्कले ग्रीनल्यान्डको सुरक्षामा २ अर्ब ५ करोड डलर खर्च गर्ने

मङ्गलवार, माघ १५, २०८१

झापा । ग्रीनल्यान्डको सुरक्षा बलियो बनाउन डेनमार्क र ग्रीनल्यान्डबीच २ अर्ब डलरभन्दा धेरै खर्च गर्ने सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड जसरी पनि अमेरिकाको माताहतमा आउनुपर्ने बताउन थालेपछि डेनमार्कले ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रको सुरक्षा बढाएका हुन । तत्कालका लागि डेनमार्कले ग्रीनल्यान्डको सुरक्षाका लागि २ अर्ब ५ करोड डलर खर्च गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

डेनमार्क र ग्रीनल्यान्डबीच भएको समझदारीअनुसार उन्नत खालका ३ वटा आर्कटिक जहाज, लामो दूरीका मिसाइल खरिद गरेर तैनाथ गरिनेछ ।

डेनमार्कका रक्षामन्त्री ट्रोल्स लुन्ड पोल्सेनले आर्कटिक र उत्तरी एट्लान्टिकमा सुरक्षा र रक्षाको सम्बन्धमा गम्भीर चुनौतीहरू देखिएकाले आफूहरूको यो कदम आएको बताएका छन् ।

ग्रीनल्यान्ड ५६ हजार बासिन्दाको एउटा टापु हो, धेरै हदसम्म ग्रीनल्यान्ड स्वायत्त रहे पनि डेनमार्कको हिस्साका रूपमा रहेको छ । २१ लाख ६६ हजार वर्गकिलोमिटर ठूलो ग्रीनल्यान्डमा अमेरिकाले लामो समयदेखि सुरक्षा चासो राखेको छ ।

दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीले डेनमार्कको मुख्य भूमि कब्जा गरेपछि अमेरिकाले ग्रीनल्यान्डमा आक्रमण गरेर यस क्षेत्रमा सैन्य र रेडियो स्टेशनहरू स्थापना गरेको छ । त्यस बेलादेखि यस क्षेत्रमा अमेरिकाको पनि उपस्थिति कायम छ ।

ग्रीनल्यान्ड उत्तर अमेरिकाबाट युरोप जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो । त्यसैले अमेरिकाका लागि ग्रीनल्यान्ड रणनीतिक रूपमा महत्त्वपूर्ण छ । पछिल्ला वर्षहरूमा दुर्लभ खनिज, युरेनियम र फलामको खानीसहित ग्रीनल्यान्डको प्राकृतिक स्रोतहरूमा अमेरिकाको चासो बढेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार ग्रीनल्यान्ड खरिद गर्ने बताएपछि डेनमार्क र ग्रीनल्यान्डका नेताहरूले आफ्नो देश किनबेचका लागि कुनै वस्तु नभएकोले यस्ता कुरा नगर्न चेतावनी दिँदै आएका छन् ।