२०८१ माघ १६, बुधवार , ०४:३२:५७ बजे

Sajhamanch
'

शिवसताक्षीका सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण

मङ्गलवार, माघ १५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले स्थानीय ४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्त फेउदिनले वडा नं. ८ का ४ वटा सामुदायिक विद्यालयलाई उक्त सामग्री प्रदान गरेका हुन ।

श्री अरुणोदय आधारभूत विद्यालय, श्री सरस्वती आधारभूत विद्यायल र श्री भगवती आधारभूत विद्यालयलाई एक–एक थान ल्यापटप प्रदान गरिएको छ भने श्री झिलझिले माध्यमकि विद्यालयलाई प्रिन्टर प्रदान गरिएको ८ नं. वडा कार्यालयले जनाएको छ ।

सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख थोप्राले विद्यालय अब स्मार्ट बन्नुपर्ने, कम्तीमा पनि विद्यायलले चिठी लेख्दा लेटरप्याडमा हातले नभई कम्प्युटर टाइप गरी वितरण गर्नुपर्ने सुझाव दिए ।

बाटो, पूल, कल्भर्ड बन्नुमात्र विकास नभई विद्यालय प्रविधियुक्त, विद्यालयको शैक्षिक सुधार र अन्य धेरै सामाजिक कामहरु गर्दामात्र पूर्ण विकास हुने नगरपालिकाको बुझाई रहेको नगरप्रमुख थोप्राले बताए ।

उनले नगरपालिकामा विकास निर्माणका लागि धेरै नागरिकहरु निवेदन लिएर आए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक बाहेक कोही पनि शैक्षिक गुणस्तर सुधारका लागि योजना लिएर नआएको गुनासो गरे ।

उनले भने, विद्यालय सुधारका लागि आम नागरिक, राजनीतिक दल, बुद्धिजीवि सबैको उतिकै दायित्व हुन्छ । तर यहाँ त्यस्तो देखिएको छैन ।

वडाध्यक्ष सन्त फेउदिनले विद्यालयहरूलाई प्रविधिसँग जोड्न वडा कार्यालयले ल्यापटप र प्रिन्टरजस्ता आवश्यक उपकरणहरु प्रदान गरेको बताए । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगले शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान दिन्छ । उनले भने, विद्यालय माग गरे बमोजिमको सामग्री हस्तान्तरण गरिएको हो ।

वडाले अघिल्लो आर्थिक वर्षमा श्री अरुणोदय आधारभूत विद्यालयका विद्यार्थी ओसारपसार गर्न सिटी प्रदान गरिएको र चालु आवमा भगवती आधारभूत विद्यालयलाई पनि हस्तान्तरण गरिने अध्यक्ष फेउदिनले जानकारी दिए ।

ती ल्यापटप र प्रिन्टरहरु ३ लाख ५० हजार रुपैयाँको लागतमा खरिद गरिएको वडा कार्यालयले जनाएको छ । जसमा वडाले २ लाख ५० हजार र शिवसताक्षी नगरपालिकाले १ लाख सहयोग गरेको छ ।

सो अवसरमा श्री अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक ताराकुमारी लावतीले शैक्षिक सुधारका लागि नगर तथा वडाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले आधारभूत तहका विद्यालयहरुमा धेरै उपकरण तथा सामग्रीहरुको आवश्यकता रहेको तर समय समयमा नगर र वडाले गर्ने सहयोगले पनि शैक्षिक सुधारमा केही टेवा पुगेको जानकारी दिइन् ।

कार्यक्रममा झिलझिले माविका व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुंगाना, शिक्षक विष्णु सुब्बा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडाका कर्मचारी कुमारसिंह साँवाले गरेका थिए ।

सम्बन्धित खबर