काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताएका छन् ।
मङ्गलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने कुरा गरेको त कतिपयले बङ्गलादेशको कुरा गरे पनि त्यो सम्भावना नरहेको बताए । उनले लोकतान्त्रिक र संवैधानिक व्यवस्था बाहेकका गतिविधि अस्वीकार्य हुने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा सबै बस्नुपर्ने बताए ।
‘नेपालमा लोकतान्त्रिक र संवैधानिक व्यवस्था अन्तर्गत हुने सबै कुरा स्वीकार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाहेक अरू प्रकारका प्रवृत्तिबाट अराजकताका बाटाबाट परिवर्तन सम्भव छैन, यसमा प्रस्ट हुनुपर्छ । ’
उनले विरोधीहरूले वर्तमान सरकार आजै ढल्ने भोलि नै ढल्ने भनेर प्रचार गरे पनि त्यस्तो अवस्था नरहेको दाबी गरे ।
‘सरकार साँझ ढल्छ, राति नै ढल्छ । आज नढले भोलि नै सरकार ढल्छ, भोलि नभए पर्सि, नभए अर्को हप्ता नभए महिना भन्ने गरेका छन्’, उनले भने, ‘८४ मङ्सिरमा चुनाव हुन्छ अनि सरकार परिवर्तन हुन्छ ।’