झापा । मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतका ६ वटा संस्थाले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण यातायातका साधन खासै चल्न सकेका छैनन् ।
बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरू चल्न नसकेका हुन् । मेची राजमार्ग भएर इलामतर्फ जाने सवारी साधनलाई स्कर्टिङको व्यवस्था गर्न लागिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
उनले फाट्टफुट्टरुपमा साना सवारी साधनहरू सञ्चालन भइरहेको जानकारी दिए । आज बिहानै मेची राजमार्गको विभिन्न ठाउँमा बन्दकर्ताहरुले टायर बालेकोमा प्रहरीले त्यसलाई निभाएको छ ।
पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति , पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति , किरात याक्थुङ चुम्लुङ , थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।