झापा । गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ ।
अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख छ ।
गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १७९ जनाको ज्यान गएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो ।
दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ । गएको हप्ता अधिकारीहरूले देशभरका ७ वटा विमानस्थलमा नेभिगेशनका लागि प्रयोग गरिएका कङ्क्रिट संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए ।
यसैबीच दक्षिण कोरियाले विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको उड्डयन एजेन्सी, अमेरिका, फ्रान्स र थाइल्यान्डका अधिकारीहरूलाई बुझाएको छ ।