२०८१ माघ १४, सोमवार , ०९:४४:२८ बजे

Sajhamanch
'

सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने

सोमवार, माघ १४, २०८१

काठमाडौं । सौर्यमण्डलमा रहेका ६ वटा ग्रह पृथ्वीबाट एकसाथ अवलोकन गर्न सकिने भएको छ । सौर्यमण्डलका मुख्य चम्किला ग्रहहरू शुक्र, मङ्गल, वृहस्पति, शनि, अरुण र वरुण एकसाथ खाली आँखाले अवलोकन गर्न सकिने भएको हो ।

यी ग्रहहरु आजदेखि यही माघको तेस्रो हप्तासम्म आकाशको एउटै भागमा खाली आँखाले अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिए।

उनका अनुसार सूर्य अस्ताउने बित्तिकै दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा सफा आकाशमा सहजरूपमा देख्न सकिनेछ । शनि, शुक्र, वृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिनेछन्, तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिने उहाँले बताए।

ग्रहहरुको पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन । यो दुर्लभ क्षण नेपालसहित विश्वका उत्तरी धुव्रमा पर्ने धेरै ठाउँबाट देख्न सकिने शर्माले जानकारी दिए।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरमा आज बेलुकी ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई निःशुल्क अवलोकन गर्न सकिन्छ ।