काठमाडौं । पुस महिनामा देशभर ४ हजार ३४५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकानुसार पुसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ३६३ वटा मुद्दा दर्ता भएका छन् ।
यस्तै प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६५० वटा र कर्णाली प्रदेशमा सबैभन्दा कम १५१ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ६३०, बाग्मतीमा ४२९, गण्डकीमा ३०६, लुम्बिीमा ५४६ र सुदूरपश्चिमा २७० वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।
पुस महिनामा सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार १४६ वटा मुद्दा दर्ता भएका छन् । यो संख्या कुल मुद्दाको २६.३८ प्रतिशत रहेको प्रहरीले जनाएको छ ।
यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६१०, आत्महत्याका ४२४, लागूऔषधका ४१३, चोरीका २७२, ठगीका २२२, सवारी ज्यानका १६८, जबरजस्ती करणलीका १५०, ज्यान मार्ने उद्योगका ८५ र कर्तव्य ज्यान मुद्दाका ४१ वटा मुद्दा दर्ता भएका छन् ।
मुद्दा दर्ता दर मंसिर महिनाको तुलनामा ३.९२ प्रतिशतले बढेको प्रहरीले जनाएको छ । मंसिरमा ४ हजार १८१ वटा मुद्दा दर्ता भएको थियो ।