काठमाडौं । आज बुधबार सेयर बजार ५२ दशमलव ३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो ।
सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४ दशमलव २४ प्रतिशत बढ्यो । बैंकिङ १ दशमलव ३२, विकास बैंक २ दशमलव ७४, फाइनान्स ० दशमलव ८९, होटल तथा पर्यटन २ दशमलव ७१, हाइड्रोपावर २ दशमलव १२, लगानी ३ दशमलव ८२, जीवन बीमा १ दशमलव ८९, माइक्रोफाइनान्स १ दशमलव ०७, उत्पादन ० दशमलव ०८, निर्जीवन बीमा १, व्यापार २ दशमलव ४५ प्रतिशत बढे ।
आज ‘हाइक्याप’ कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । धेरै मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सजस्ता ‘हाइक्याप’ कम्पनी पनि अगाडि देखिएका छन् ।
दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन डेभलपमेन्टको ९ दशमलव ८, एचआईडीसीएलको ८ दशमलव ४, सुपरमादी हाइड्रोपावरको ८ दशमलव २ प्रतिशत मूल्य बढ्यो ।
बाराही हाइड्रोपावरको मूल्य ८ दशमलव २ प्रतिशत घट्यो । रिभर फल्स पावरको ५ दशमलव ६, विन नेपाल लघुवित्तको २ दशमलव ८ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि देखिए ।