बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिने कृति तथा प्रतिभा छनौट गरिएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले कृति तथा प्रतिभा छनौट उपसमितिले निर्णय गरेर ल्याएका नामलाई छलफल गरी अनुमोदन गरेको हो ।
संस्थाले २०८० सालमा प्रकाशित कृतिहरु मध्येबाट वर्षोत्कृष्ट कृतिका रुपमा भारत कालेम्पोङ निवासी राजेन्द्र भण्डारीद्वारा लिखित कृति सृजन सन्दर्भ नामक लेख संगालोलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको विशेष प्रतिभा पुरस्कार तथा सम्मान यस वर्ष बिर्तामोड निवासी वरिष्ठ अधिवक्ता, कवि तथा साहित्यकार लीला उदासीलाई प्रदान गरिने निर्णय भएको छ ।
त्यसैगरी धनमाया महिला पत्रकारिता वर्ष पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र अपाङ्गता प्रोत्साहन पुरस्कारबाट अर्जुनधारा निवासी खेम रेग्मीलाई प्रदान गरिने निर्णय भएको कोषका अध्यक्ष प्रसाईले जानकारी दिए ।
अध्यक्ष प्रसाईका अनुसार वर्षोत्कृष्ठ कृति, विशेष प्रतिभा पुरस्कार र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारको राशी समान २५–२५ हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ ।
अपाङ्गता प्रोत्साहन पुरस्कारको ११ हजार रुपैयाँसहित सम्मान पत्र रहेको कोषका कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।
पुरस्कृत प्रतिभालाई आगामी फागुन ७ गते विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरिने जनाइएको छ ।
कोषका अध्यक्ष प्रसाईले आफ्ना माता पिताको सम्मानका खातिर २०५९ सालमा जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको स्थापना गरी साहित्य र पत्रकारिताको उन्नयनका लागि पुरस्कार सम्मान गर्दै आएको छ ।
वर्षोत्कृष्ठ कृतिबाट पुरस्कार प्रदान गर्न शुरु गरेको कोषले क्रमिक रुपमा धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार, विशेष प्रतिभा सम्मान तथा पुरस्कार र अपाङ्गता प्रोत्साहन पुरस्कारको स्थापना गरी वितरण गर्दै आएको छ ।
साहित्य, पत्रकारिता र विभिन्न प्रतिभाको पहिचान गरी वर्षिक रुपमा चारवटा विधामा पुरस्कार प्रदान गर्दै आएको संस्थाले केही समय साहित्यिक पत्रिकाका रुपमा केचना विशेषाङ्कसमेत प्रकाशन गरेको थियो ।
साहित्यका हरेक विधालाई त्यत्तिकै सम्मान गर्दै आएको संस्थाले छन्द दिवसको सन्दर्भ पारेर साहित्यिक कार्यक्रमसमेत गर्दै आएको छ ।