झापा । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओलको हिरासतको अवधि थप भएको छ ।
उनी रिहा भएमा प्रमाण लुकाउन वा नष्ट गर्नसक्ने भएकाले अनुसन्धानकर्ताहरूले राष्ट्रपति युनलाई थप २० दिनका लागि हिरासतमा राख्न सक्न माग गरेका थिए । न्यायाधीशले युनको हिरासतको अवधि थप गर्न आदेश दिएका हुन् ।
युन सुक येओल गएको बुधवार पक्राउ परेका थिए । अनुसन्धानकर्ताहरूले देशद्रोहको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेका हुन् ।
गएको वर्षको डिसेम्बरमा युन सुक येओलले देशमा सैनिक शासन ल्याउने ‘मार्सल ल’ लागू गर्ने घोषणा गरेका थिए र विवादपछि उनले फिर्ता लिएका थिए । त्यसपछि उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र संसदमा पारित भयो ।
संवैधानिक अदालतले युन सुक येओललाई महाभियोगमार्फत पदबाट हटाउनुको वैधानिकताको बारेमा भने निर्णय गरेको छैन । त्यसैले उनी प्राविधिक रूपमा अझै पनि दक्षिण कोरियाको राष्ट्रपति छन् ।