काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने बताएका छन् ।
आज आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने पनि विश्वास व्यक्त गरे । ‘२ वर्ष भयो मैले प्रयत्न गरेको, तपाईंले वास्तै गर्नुभएन,’ प्रधानमन्त्रीलाई सुनाएको भनाई उद्धृत गर्दै गौतमले भने, ‘तर यसपालि बोलाउनु भयो ठिकै छ ।’
उनका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गौतमजस्तो इतिहास भएको पुरानो नेता फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेका छन् ।
गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए ।
‘माधवजीसँग कुराकानी त भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो,’ गौतमले भने, ‘तर अब यी कुरा छाडिदिउँ । ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ ।’